Saturday, April 18, 2015

24.(postnatal Care Why to give importance?सुत्केरी अवस्था: आमा तथा नवजात शिशुका लागि एक बिशेष अवस्था गर्भवती जाँचको महत्वबारे जसरी वकालत गर्ने गरिन्छ त्यही अनुरुप सुत्केरी जाँचको बारेमा पनि हामीले वकालत गर्ने हो भने मातृ तथा शिशुका लागि हुने जटिलताहरु बारे समयमै पत्ता लगाई रोकथाम गर्न सकिन्छ/



पृष्ठभूमि
झापाकी सीता श्रेष्ठले १० दिने शिशुलाई अचानक ज्वरो आएको, बान्ता गरेको र खान पनि मन  नगरेकोले धरान स्थित वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थप जाँचका लागि  लिएर आइन/ उनले नियमित गर्भ जाँच गरेको, स्वास्थ्य संस्थामा नै प्रसुती गराएको  र जन्मदा शिशु पनि स्वस्थ भएको जानकरी दिइन/ प्रसुतीको २४ घण्टा पछि डीस्चार्ज  भएकी उनलाई शिशुलाई त्यसपछि थप जाँच गर्न तेश्रो तथा सातौ दिनमा स्वास्थ्य चौकी लानु भयो कि भएन भनेर सोध्दा त्यस बारे आफुलाई केहि पनि थाहा नभएको र केहि खतरा भए आउनु भनेर सल्लाह दिएको बताइन/

सर्लाही कि सबनम खातुनले भने छुट्टै प्रसङ्ग सुनाइन/ उनले नियमित गर्भ जाँच गर्ने गरेकी भएता पनि व्यथा लागेको बेलामा तुरुन्तै स्वास्थ चौकी जान नसकेकोले घरैमा प्रसुती  भएको  बताईन् / उनको शिशु भने स्वस्थ नै छ / घरैमा प्रसुती  भएता पनि महिला स्वास्थ्य स्वयं सेविकाले घरैमा सुत्केरी जाँच गरेको र आमा तथा शिशुमा हुन सक्ने खतरा बारे राम्ररी जानकारी दिएको उनले बताइन/


सुत्केरी अवस्थामा बिशेष ध्यान तथा साबधानी  नअपनाउदा र  दक्ष जनशक्ति तथा श्रोत साधनको अभावमा  आमा र शिशु दुवै अस्वस्थ हुने र मृत्यु समेत हुने गरेको पाइएको छ / यद्दपी गर्भवती र प्रशव अवस्थालाई जति जोखिमपुर्ण अवस्था भनेर प्राथमिकता दिने गरिन्छ त्यहि प्राथमिकता सुत्केरी अवस्थालाई दिने गरेको भने पाइदैन / आज हामीले यही सुत्केरी अवस्थाको महत्व बारे प्रकाश पर्ने जमर्को गरेका छौ /

परिचय
नवजात शिशुको जन्म पश्चातको ४२ दिन अथार्थ ६ हप्ता सम्मको अवस्थालाई सुत्केरी अवस्था भनिन्छ / यस अवस्थामा सुत्केरी महिलामा विभिन्न शारीरिक तथा मानसिक परिवर्तन आउने गर्दछ / गर्भवती हुदाँ प्रजनन अंग तथा अन्य प्रणालीमा आएका शारीरिक परिवर्तन पहिलेकै अवस्थामा फर्कने, आमाले स्तनपान तथा नवजात शिशु स्याहारका लागि शारीरिक तथा मानसिक रुपमा तैयार हुने सुत्केरी अवस्थामा नै हो / आमाको गर्भाशय भन्दा भिन्न वातावारणमा जन्म लिएको नवजात शिशुमा पनि विभिन्न प्रणालीगत परिवर्तन  आउदछ र बाहिरि वातावरणमा बाच्नका लागि संघर्ष गर्नु पर्दछ / यस अवस्थामा नवजात शिशुलाई उसको अनुकुलको वातावरण उपलब्ध नहुदा अस्वस्थ हुने साथै आमा तथा परिवारलाइ  पनि शिशुको स्याहार सम्बन्धि पर्याप्त जानकारी नहुदा अझै  खतरा बढ्न गई शिशुको मृत्यु समेत हुने गरेको छ/

सुत्केरी अवस्थामा किन धेरै प्राथमिकता ?
नवजात शिशुको स्वास्थ्य अवस्था उसको आमा स्वस्थ छिन् कि छैनन् भन्ने कुरामा निर्भर रहन्छ/ आमा र शिशु दुबैको लागि प्रसव, प्रसव पछिको पहिलो २४ घण्टा र त्यसपछिको ७ दिन अत्यन्तै जोखिमपूर्ण अवस्था हो / बिश्व स्वास्थ्य संगठनका अनुसार प्रत्यक दिन करिब ८०० महिलाको मृत्यु गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा आउने जटिलताको कारणले हुने गरेको छ / यसको करिब ९९ % श्रोत साधन तथा दक्ष जनशक्ति सिमित अति कम बिकसित र बिकाशोंमुख देशहरुमा भएको पाइन्छ/ २०१३ को तथ्यांक अनुसार बिश्व भरका २,८९००० महिलाको गर्भवती तथा सुत्केरी अवस्थामा आउने जटिलताका कारण मृत्यु भएको छ /  नेपालको २०१४ मा  बिश्व स्वास्थ्य संगठनको अनुमानित तथ्यांकअनुसार मातृ मृत्युदर १९० रहेको छ जसको मुख्य कारणहरु  प्रसव तथा सुत्केरी अवस्थामा हुने अत्यधिक रक्ताश्राब, संक्रमण, उच्च रक्तचाप, गर्भ तथा प्रसव अवस्थामा देखिने जटिलताहरु र असुरक्षित गर्भपतन हुन्/ यस बाहेक मलेरिया तथा एड्सका कारणले पनि मृत्यु हुने गरेको पाइन्छ/ मातृ मृत्युदर संगसंगै नवजात शिशु मृत्युदर पनि अति कम बिकशित देशहरुमा नै बढी हुने गरेको छ / विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब ३ मिलियन नवजात शिशुको पहिलो महिना नपुग्दै र त्यतिकै संख्यामा जन्मदै मृत्यु  हुने गरेको छ /यो तथ्यांकको करिब ५०% जन्मेको २४ घण्टामा र करिब ७५% शिशुको मृत्यु जन्मेको पहिलो एक सातामा भएको छ / २०१३ को तथ्यांकका अनुसार विश्वको करिब ६.३ मिलियन बालबालिकाको  आफ्नो  पाचौ जन्मदिन मनाउन नपाउदै मृत्य भएको छ जसको करिब ४४% भाग नवजात शिशुको मृत्युले ओगटेक छ/ नेपालको २०१४ को तथ्यांक अनुसार प्रतिहजार जीवित जन्मेका शिशुमा करिब २३ जना नवजात शिशु, ३३ जना एक बर्ष मुनिका बच्चा र  करिब ३८ जना  पाच बर्ष मुनिको बच्चाको मृत्यु भएको देखिन्छ/ नवजात शिशु मृत्युको  प्रमुख कारणहरु  संक्रमण, जन्मदै नि:सासिएर, कम तौल हुनु, उमेर नपुग्दै जन्मिनु, जन्मजात बिकृति र शितांग हुनु रहेको छ भने पांच बर्ष मुनिका बालबालिकाको मृत्युको कारण श्वासप्रश्वास समस्या जस्तै न्यूमोनिया, झाडापखाला, क्षयरोग, धनुष्टंकार, कुपोषण र दादुरा रहेको छ/ उचित श्रोत साधन, दक्ष जनशक्तिको आपुर्ति संगै गर्भवती, प्रशब  र सुत्केरी जाँचलाई प्रभाबकारी बनाउन सके मृत्युका यी सबै कारणहरु रोकथाम गर्न सकिन्छ /

सहश्राब्दी बिकाश लक्ष्य र नेपाल    
स्वास्थ्य सुबिधा सबैको पहुँचमा पुगोस र संसारबाट गरिबी र भोकमरी हटाउन सकौ भन्ने हेतुले संयुक्त राष्ट्र संघले सन् २००० मा सहश्राब्दी बिकाश लक्ष्यको अबधारणा ल्यायो/  सहश्राब्दी बिकास लक्ष्यको अवधारणा अनुसार २०१५ सम्ममा मातृ मृत्यु दर पचहत्तर प्रतिशतले घटाउने र शिशु मृत्युदर दुई तिहाईले घटाउने प्रतिबद्दता रहेको छ/ मातृ मृत्युदरमा उल्लेखनीय परिवर्तन ल्याउन सकेता पनि शिशु मृत्युदर घटाउन भने नेपाल चुकेको छ/  साथै नेपाल सरकारले विभिन्न प्रायोजनहरु लिएर अस्पताल तथा स्वास्थ चौकीमा दक्ष जनशक्तिको उपस्थितिमा प्रसुती गराउने व्यवस्था गरेता पनि अझै पनि ५०% भन्दा बढी  प्रसुती   घरैमा दक्ष जनशक्तिको अनुपस्थितिमा हुने गरेको पाइन्छ/ अस्पतालमानै प्रसुती हुने गरेका महिलाहरुमा पनि समयमा निर्णय नहुदा अस्पताल आउन ढिला हुने र उपचार प्रक्रिया पनि ढिला हुने भएकोले आमा तथा बच्चा दुबैको स्वास्थ्य जोखिममा  पर्ने र मृत्यु पनि हुने गरेको पाइन्छ/ घरैमा प्रसुती हुने त सुत्केरी जाँच देखि बन्चित हुनेनै भए, अस्पताल तथा स्वास्थ्य चौकीमा प्रसुती हुने महिलाहरुले पनि सुत्केरी जाँचको महत्व नबुझेर र पुन: जाँच गराउनु आवश्यक नठानेर समयमा शिशुको जाँच हुन नपाउदा मृत्यु हुने गरेको पाइएको छ/ आमा तथा परिवारका अन्य सदस्यहरुमा नवजात शिशुमा देखा पर्ने खतराका लक्षणहरु बारे ज्ञान नहुदा, साथै गरिबी, बिकट बाटो, नजिकै स्वास्थ्य संस्था उपलब्ध नहुँनु, आवश्यक श्रोत साधनको अभाब र परम्परागत सोंचले गर्दा पनि शिशु मृत्युदर घटाउनमा बाधा भएको छ/

कसरी घटाउने शिशु मृत्युदर ?

शिशु मृत्युदर  कम गर्न गर्भावस्था देखिनै बिशेष ध्यान दिनु पर्दछ/ गर्भावस्थामा नियमित जाँच गरेर, स्वस्थ खाना खाएर र स्वस्थ जीवनशैली अपनाएर, धनुष्टंकार विरुद्ध खोप लगाएर आमा आफू लगायत शिशुलाई स्वस्थ राख्न सक्छिन/ सबै गर्भवती महिलाहरुलाई दक्ष जनशक्तिको उपस्थितिमा स्वास्थ्य चौकी तथा अस्पतालमा प्रसुती गराउनु पर्दछ/ विश्व स्वास्थ संगठनले १९९८ मा सुत्केरी अवस्थामा नवजात शिशुको बिशेष हेरचाह गर्नका लागि एउटा निर्देशिका तयार गरेको छ/ नवजात शिशुलाई जन्मेको एक घण्टा भित्रमा स्तनपान गराउने र ६ महिना सम्म स्तनपान मात्रलाई निरन्तरता दिने/ शिशुलाई न्यानो राख्ने,शिशुको नाभी सफा राख्ने र कम तौल भएको शिशुहरू उच्च जोखिममा पर्ने भएकोले मायाको अंगालो बिधिबाट बिशेष  हेरचाह गर्ने, साथै नवजात शिशुमा देखिने खतराका लक्षणहरु जस्तै छिटो छिटो श्वास फेरेको, स्तनपान गर्न नसकेको, जरो तथा कम्पन आएको र जिउमा पीप झैँ पाकेका  फोकाहरु आएको,  नाभी पाकेको , शिशु कम चलेको र जन्डिस भएको  लक्षणहरु देखेमा तुरुन्त नजिकैको स्वास्थ चौकी लग्न सल्लाह दिनु पर्दछ/ त्यस्तै गरि आमालाइ पनि खानपान, स्तनपान र परिवार नियोजन सम्बन्धि सरसल्लाह दिनु पर्दछ/ आमामा कुनै समस्या जस्तै स्तनमा घाऊ हुने, अत्यधिक रक्ताश्राब हुने,  टाउको दुख्ने, बान्ता आउने तथा चक्कर लाग्ने भएमा नजिकैको स्वास्थ्य  चौकीमा जानु पर्दछ भनेर सल्लाह दिनु पर्दछ/ एच. आइ. भी. संक्रमित आमा तथा शिशुको लागि पनि बिशेष हेरचाह र नियमित अनुगमन  गरिनुपर्दछ/ यी सबै कार्यहरुलाई प्रभाबकारी बनाउनका निमित्त सुत्केरी सेवा सबैको पहुचमा हुने गरि व्यस्थित गर्नुपर्दछ/  सुत्केरी सेवा यति नै बेला लिने भनेर एउटा निश्चित मापदण्ड नभएता पनि बिश्व स्वास्थ संगठनले नवजात शिशु र मातृ मृत्युदर अत्यधिक हुने समयलाई ख्यालमा राखी ४ पटकको समयलाई मुख्य प्राथमिकतामा राखेको छ/ पहिलो जन्मेको २४ घण्टा भित्र, दोश्रो जन्मेको ३ दिन भित्र र तेश्रो सातौ दिन भित्र अनि चौथो २९ औ दिनमा/  यसबाहेक खतराका लक्षणहरु देखिएमा जुनसुकै समयमा पनि आउन सकिने व्यवस्था छ/ सुत्केरी सेवा लिनका लागि गर्भवती अवस्था देखिनै यसको महत्वबारे प्रकाश पार्नुपर्दछ / गर्भवती जाँचको महत्वबारे जसरी वकालत गर्ने गरिन्छ त्यही अनुरुप सुत्केरी जाँचको बारेमा पनि हामीले वकालत गर्ने हो भने मातृ तथा शिशुका लागि हुने जटिलताहरु बारे समयमै पत्ता लगाई रोकथाम गर्न सकिन्छ/ घरैमा प्रसुती हुने व्यवस्थालाई सकेसम्म निरुत्साहित गर्ने  र केहि कारणबश घरैमा प्रसुती भए स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा सुत्केरी जाँच गराउनु पर्दछ/ र सुत्केरी अवस्थामा हुन सक्ने खतराका लक्षणहरुबारे आमा तथा परिवारका अन्य सदस्यलाई जानकारी दिनु पर्दछ/ अस्पतालबाट डिस्चार्ज भएर जादा प्रत्येक सुत्केरी महिला तथा उनीहरुको परिवारलाई त्यसपछिको सुत्केरी जाँचको महत्व संगसंगै सन्तुलित खाना, सरसफाई, आराम तथा व्यायाम, स्तनपान, नवजात शिशु स्याहार, हात धुने तरिका, खोप तथा परिवार नियोजन सम्बन्धि स्वास्थ्य सल्लाह दिनु पर्दछ/

नेपाल सरकारले बिगतका केहि बर्ष देखि नवजात शिशु स्वास्थ्यलाई केन्द्रबिन्दु मानेर बिशेष ध्यान दिई आएको छ/ राष्ट्रिय भिटामिन ए, खोप तथा समुदायमा आधारित बालरोग  एकीकृत व्यवस्थापन कार्यक्रमहरुले बाल मृत्युदर घटाउन सफलता मिलेको कारणले गर्दा सुरक्षित मातृत्व कार्यक्रममा पनि नवजात शिशु स्वास्थ्य कार्यक्रम समाबेश गरिएको छ/ समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान र कार्यलाइ कदर गर्दै उनीहरुलाई आवश्यक तालिम तथा प्रोत्साहन पनि दिदै आएको छ/ साथै सुत्केरी जाँचलाइ  नै प्राथमिकता दिदै सुनौलो हजार दिनको कार्ययोजना पनि नेपाल सरकारले ल्याएको छ /

अन्तत मातृ तथा शिशु मृत्युदर कम गर्नु भनेको कुनै एउटा व्यक्ति र संघ संस्थाको प्रयासले मात्र हुदैन / यो कुनै एक दिनमै अतुलनीय परिवर्तन ल्याउन सकिने कार्य पनि होइन/ त्यसर्थ यसका लागि परिवारका सदस्य, समुदाय, स्वास्थ्य स्वयं सेविका, ग्रामिण स्वास्थ्य कार्यकर्ता, मातृ शिशु कार्यकर्ता, अ.न.मि., नर्स, डाक्टर तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोग चाहिन्छ/ परिवारजन तथा समुदायलाई सुत्केरी स्याहार र जाँच सम्बन्धि शिक्षा दिनुपर्दछ/ कार्यक्रमहरु तयार गर्दा सबैलाई समेट्न सकिने खालको र सबैलाई सम्बोधन गर्ने खालको कार्यक्रमहरु तर्जुमा गर्ने, संगसंगै कार्यक्रम प्रभाबकारी भयो भएन भनेर अनुगमन पनि गर्ने र प्रभाबकारी हुन सक्नुको कारणहरु समयमै पत्ता लगाएर समाधान गर्नु पर्दछ / यदि सुत्केरी स्याहार तथा जाँचलाई नियमित रुपमा कार्यन्वयन गर्ने, बढावा दिने र उत्थान गर्ने हो भने हजारौ शिशु तथा आमालाई जोखिमबाट बचाउन सकिन्छ र बर्षेनी हुने शिशु तथा मातृ मृत्युदर घटाउन सकिन्छ/
धन्यवाद    




No comments:

Post a Comment