मेरो बारेमा (About Me)

ब्लगरका लागी आचारसंहिताको आवश्यकता छ : हिरा के.सी. पराजुली

आफ्नो रुचि कै काममा रमाईरहेकी उनलाई घुम्न, पत्रपत्रिका पढ्न मनपर्छ । नयाँ कुरा अरुबाट सिक्न अनि सिकाउन मनपराउने उनी नर्सिङ पेशामा आवद्ध छिन । बिरामीको सेवा गर्नु मात्र नर्सको काम हो भन्ने धारणामा परिवर्तन ल्याउन लागिपरेकी उनी अर्थात हिरा के.सी. पराजुली स्नाकोत्तर तहमा अध्ययनरत छिन् । हिरा नर्सिङ पेशाका अलावा ब्लग लेखनमा पनि उनी उत्तिकै सक्रिय छिन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै हिरा के.सी. पराजुलीलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:

तपाई आफुलाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ  ? बताइदिनुस न।
सोसल मिडियामा म आफूलाई एक नर्सिङ उद्यमी भनेर चिनाउन चाहन्छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी शुरु गर्नुभयो ?
ब्लगिङ शुरुवात गरे कै त २०११ देखि हो तर बिचको केहि बर्ष म त्यति सक्रिय भईन् । डाक्टर सूर्य पराजुलीको पहलमा मैले पूनः ब्लगिङ शुरु गरेकी हुँ । शुरु गर्दा आफ्नो व्यक्तिगत प्रोफाइलहरु मात्र राख्ने सोच थियो ।
के का लागि ब्लगिङ गर्नुहुन्छ  ? स्वास्थ्य सम्बन्धि ब्लग चलाईरहनु भएको छ ,कत्तिको सजिलो छ त ब्लगिङ गर्न ?
ब्लगिङ गर्दा शुरुमा एउटा रहर मात्र थियो । तर जब एउटा स्वास्थ सम्बन्धि लेख राखे त्यसपछि हेर्नेहरुको संख्या बढ्यो । अनि मात्र बुझे ब्लगको महत्व। यो मेरो लागि मात्र नभएर सबैको लागि उपयोगी रहेछ भन्ने लागेर निरन्तरता दिने सोच आयो ।
अहिले स्वास्थ्य शिक्षा दिनका लागि स्वास्थ्य सम्बन्धि अनुसन्धानहरुको बारेमा र कहिलेकाँही काम गर्दै जाँदा आफुले देखेको र भोगेको तितो मिठो अनुभव पोख्नका लागि ब्लगिङ  गर्ने गर्छु । बिशेष त अहिले मैले नर्सिङ पेशामा आबद्दहरुका लागि उपयोगी हुने स्वास्थ सम्बन्धि लेखहरु राखेकी छु । ब्लगिङ गर्न सजिलो त छैन  तर जहाँ ईच्छा त्यहाँ उपाय भने झैँ चाहनुभयो भने र कोशिस गर्नुभयो भने असम्भब पनि केहि छैन । 

तपाईले http://heerakc.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ ? 
यस बाहेक डाक्टर सूर्य पराजुलीको ब्लग उहाँले नभ्याउनु भएको अवस्थामा चलाउने गरेकी छु ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?
म अहिले एकदम शुरुवाती अवस्थामा नै  छु । म ब्लगिङ मा सक्रिय भएर लागेको  खासै धेरै समय भएको छैन तर छोटो समयमा नै मेरो ब्लग हेर्नु हुने पाठकहरु धेरै पाएकी छु । उहाँहरुबाट राम्रो प्रतिक्रिया पाएकी छु ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरु ब्लगिङप्रति आर्कषित भई रहेका छन, यसलाई कसरी हेरिरहनुभएको छ ? अनि कस्तो देख्नु हुन्छ ब्लगिङको भविष्य ?
ब्लगिङप्रति  युवाहरु  आर्कषित  हुनु एकदम सकारात्मक कुरा हो । आफ्नो कुरा व्यक्त गर्न नयाँ प्रविधीलाई उपयोगमा ल्याउनु राम्रो हो । छिनभर मै अरुले हेर्न मिल्ने,आफू स्वयं तथा अरुको लागि धेरै नै उपयोगी हुने ब्लगिङको माध्यम धेरै नै सदुपयोगी छ र यसको भबिष्य पनि राम्रो नै देख्छु म । 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरा पनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?
हरेक कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ । सकारात्मक पक्षलाई आत्मसाथ गर्ने र नकारात्मकलाई तिरस्कार गर्नु पर्छ तर केहिले क्षण भर मै प्रसिद्धि कमाउनका लागि आचारसंहिता बाहिर गएर काम गर्ने गरेका पनि छन् त्यसैले मलाई ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकता छ भन्ने लाग्छ ।

नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ? मुलधारका सञ्चार माध्यमले सोसल मिडियालाई कसरी प्रयोग गरेको पाउनु भएको छ ?
केहि नकारात्मक कुराहरु राखेर बनाइएका ब्लगहरु छोड्ने हो भने अधिकांश ब्लगहरु गुणस्तरीय र सकारात्मक सोच राखेर बनाइएको पाइन्छ ।
मुलधारका सञ्चार माध्यमले पनि सोसल मिडियालाई प्रयोग गरि सहि सूचना र लेखहरु युवाहरुमा पुर्याउन भूमिका खेलेका छन् भने यसले उनीहरुको आफ्नै प्रचारमा पनि टेवा पुर्याएको छ । 

केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
हामीले ब्लगिङलाई नागरिक पत्रकारिताको एउटा पाटोको रुपमा लिन सक्छौ तर ब्लगरहरुका आफ्नै कार्य क्षेत्र भने हुन्छन् ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?
स्वास्थ्य क्षेत्रमा आबद्द छु ।जनस्वास्थ्य मुलक कार्यक्रमहरु तथा समाजसेवाका कामहरुमा मेरो रुची छ । साथै अनुसन्धानमुलक कामहरु गरेर आफ्नै प्रोफेसनको बिकासमा जुट्न पनि मलाई मनपर्छ । डाक्टर सूर्य पराजुलीसँगै मिलेर मैले रेडियो मार्फत जनचेतना मुलक कार्यक्रम डाक्टर साथी पनि संचालन गर्ने गरेकी छु । 

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ  ?
मेरो रुचिको बिषयलाई मैले ब्लगमा समाबेश गरेको छु र गर्ने क्रममा पनि छु ।  मैले बिशेष त आफुले अध्ययन गर्दा भोगेको समस्या, कामको दौरानमा देखेको समस्याहरु अरुको लागि समस्या नबनोस भन्ने हेतुले स्वास्थ्य सम्बन्धि लेखहरु राखेकी छु । अरु स्वास्थकर्मी मुख्य त डाक्टरहरुको अगाडी नर्सहरु जहिले पनि ओझेलमा पर्ने हुदाँ आफ्नै प्रोफेसनको बिकासको लागि लेखहरु लेख्ने गरेको छु। साथै बिरामीहरुसँग नजिक रहेर काम गर्दा भोगेका तिता,मिठा कुराहरु पनि  राख्ने गरेकी छु ।
अन्त्यमा
धन्यवाद !


2 comments:

  1. heera didi!! you are the best!! an inspiration!!

    ReplyDelete
  2. Good JOB DEAR Heera.....You are doing GOOD !!

    ReplyDelete