Monday, February 2, 2015

15. Diet and Pregnancy(सुत्केरी अवस्था र खानपान ): अनुभबहरु स्वास्थ्य चेतनाका लागि By Mrs. Heera K.C. Parajuli, BN



         
          सुत्केरी अवस्थामा पोषणयुक्त खाना खानु पर्दछ भनेर प्रायश: हामी सबैलाई थाह भएकै कुरा हो तर कुन खानेकुरामा के-के पोषकतत्वहरु पाइन्छ भन्ने बारेमा थोरैलाई मात्र जानकारी होला/ त्यसमा पनि हाम्रो समाजमा रहि आएको परम्परागत रोकटोकले गर्दा के खान हुने? के खान नहुने? भन्ने बारेमा हामी सधै अल्मलिरहेका हुन्छौ / अझ भन्नु पर्दा कोही बिरामी भयो भने अथवा अस्पताल भर्ना भयो भने त हामी खानामा धेरै नै बन्देज लगाउन पुग्छौ / म एक नर्सिङ् प्रोफेशनल हुँ/ मैले कामको दौरानमा मेडिकल, सर्जिकल, प्रसुती लगायत सबै वार्डको अनुभब लिने अवसर पाएको छु / मैले  काम गर्दा सबै खाले बिरामीका आफन्तहरुबाट पाएको एउटा साझा प्रश्न हो – मेरो बिरामीले के के खाना बार्नु पर्छ सिस्टर ? 

मेरो एउटा अनुभब सुनाइ हालौ यहाँलाई- एक जना सुत्केरी महिला हुनुहुन्थ्यो/ उहाँको अपरेशन गरि बच्चा भएको ३ दिन भएको थियो / खानामा मैले उहाँलाई के के खादैं हुनुहुन्छ भनेर सोधे, उहाँले जवाफमा जाउलो खादैं छु भन्नु भयो/ मैले भने अब त नर्मल खाना खानु भए हुन्छ जस्तो साग/सब्जी, दाल भात तरकारी, माछा/मासु आदि इत्यादी / तुरुन्त जवाफमा उहाँ संगै भएको उहाँको आफन्तले भन्नु भयो (उहाँकै भाषामा) अपरेशन परेको घाउ पाक्छ, त्यसैले टाँका नकाटुन्जेल जाउलो नै दिएको/ यो एक जना बिरामी बाट आउने जवाफ नभएर प्रायश सबै बाट पाइने जवाफ हो/ यति मात्र होइन अपरेशन गरि शिशु जन्मिएको छ भने अझै पनि कालो दाल, आलुको तरकारी दियो भने घाउ पाक्छ, शिशुलाई चिसो लाग्यो भने आमाले खानेकुरा बार्नु पर्छ, शिशुलाई जण्डिस भयो भने आमाले बेसार राखेको तरकारी खानु हुदैन भन्ने गलत अवधारणा अझै पनि कायमै छ हाम्रो समाजमा/  त्यति मात्र नभएर सुत्केरी अवस्थामा दात माझ्दा दात कमजोर हुन्छ,कपाल कोर्दा कपाल झर्ने समस्या हुन्छ नुहाउदा चिसो लाग्ने आदि इत्यादी समस्या हुन्छ भन्ने डरले सरसफाईमा पनि त्यति ध्यान नदिएको पनि मैले देखे /


प्रायश सुत्केरी स्याहारमा सासु तथा आमाहरु नै सरिक हुने र कति कुरा थाह हुँदा हुँदै पनि उहाँहरुको इच्छा बिपरित जान नसक्ने भएको कारणले पनि खानपान बार्नु परेको तथा सरसफाईमा ध्यान नदिएको बताउछन् सुत्केरी महिलाहरु/

पोषणयुक्त खाना हामी सबैको लागि अत्यावश्यक छ / 
हामीले अघाउन्जेल खाएर मात्र हामी स्वस्थ हुने होइन, खाएको खानाको गुणस्तर कस्तो छ, त्यसमा के कस्तो पोषकतत्व मिसाइएको छ र कसरी पकाइएको छ त्यसले हाम्रो गुणस्तर निर्धारण गर्दछ/

कस्तो खानालाई पोषणयुक्त खाना भन्ने?
शरिरलाई शक्ति प्रदान गर्न,शारीरक वृद्ध बिकाश गर्न, र रोग विरुद्ध लड्ने क्षमता बृदि गर्नका लागि अत्यावश्यक पर्ने खाध्यवस्तुहरु नै पोषकतत्व हुन् भने यही पोषकतत्वहरु जस्तै कार्बोहाईड्रेट, प्रोटिन, चिल्लोपदार्थ, भिटामिन, खनिजपदार्थ र पानीको सम्मिश्रण नै पोषणयुक्त खाना हो/ प्राकृतिक खाध्यपदार्थहरुमा प्राय एक भन्दा बढी प्रकारका पोषकतत्वहरु पाइन्छ जस्तै चामल, गहुँमा  कार्बोहाईड्रेट र भिटामिन बी दुवै पाइन्छ भने दुध, दही, माछा, मासुमा प्रोटिन, भिटामिन तथा खनिजपदार्थ (क्याल्सियम, जिंक) पाइन्छ भने हरियो साग सब्जीहरुमा पनि विभिन्न भिटामि र खनिजपदार्थ पाईन्छन् /
कामका आधारमा पोषणयुक्त खाना निम्नानुसार बर्गिकरण गरिएको छ/
१ शक्ति दिने पोषकतत्व (कार्बोहाईड्रेट र चिल्लोपदार्थ) जस्तै: चामल, गहुँ, मकै, मह सखरखण्ड, आलु, केरा, तेल, बदाम, नौनी आदि
२. बृदि र विकास गर्ने पोषकतत्व (प्रोटिन) जस्तै: गेडागुडी, दाल, सिमी, बदाम, केराउ, दुध, दही, माछा, मासु, अन्डा, कलेजो आदि
३.सुरक्षा प्रदान गर्ने पोषकतत्व (भिटामिन र खनिजपदार्थ ) जस्तै: हरियो सागपात, फलफूल, टुसा उमारेको गेडागुडी, कागती, सुन्तला, अमला र  खनिजपदार्थ दुध, दही माछा मासु अन्डाको पहेलो भाग कलेजोमा क्याल्सियम, जिंक र फस्फोरस तथा आयोडिनयुक्त नून आदि 
अब कुरा आयो सुत्केरी महिलाहरुको, सुत्केरी अवस्थामा किन पोषकतत्वको महत्व छ?
एक बयस्क महिलाको लागि सरदर दैनिक २३००-२५०० किलो क्यालोरी खाना चाहिन्छ, ( कम काम गर्ने महिलाहरुको हकमा १८००-२००० किलो क्यालोरी हो) भने  सुत्केरी महिलाहरुको लागी दैनिक थप ५०० किलो क्यालोरी आवश्यक पर्दछ / कम तौल भएकी, कुपोषित तथा एक भन्दा बढी शिशुलाई स्तनपान गराइरहेकी सुत्केरी महिलाको हकमा यो मात्रा बढ्न पनि सक्दछ भने सुत्केरी भएको तर स्तनपान नगराएकी (कुनै कारणवश शिशु नरहेको)महिलाहरुको लागी पहिलेको नर्मल अवस्थाकै अनुपातमा पोषणयुक्त खाना दिए पुग्छ / गर्भावस्थामा जसरी गर्भवती महिलाले खाएको खानाको आधारमा गर्भमा रहेको शिशुको बृदि विकास हुने गर्दछ त्यसरी नै सुत्केरी अवस्थामा पनि पहिलो ६ महिना शिशुको पूर्ण आहार आमाको दुधमात्र  हुने भएकोले र सुत्केरी महिलाले खाएको खानानै आमाको दुधमा जाने भएकोले पोषणयुक्त खाना खानु अत्यन्त जरुरी छ / साथै सुत्केरी अवस्थामा आउने शारीरिक परिवर्तन, अनि प्रसुती अवस्थामा भएको रक्तश्राब आपूर्तिको लागी तथा स्वयं आमापनि स्वस्थ रहनको लागि पोषणयुक्त खाना को अत्यन्तै महत्व छ /

सुत्केरी महिलाहरुका लागी जान्नै पर्ने मुख्य कुराहरु
  • हरेक सुत्केरी महिलाले ६ महिना सम्म शिशुलाई  आफ्नो दुध मात्र सेवन गराउनु पर्दछ र पानी पनि आमाकै दुधमा उपलब्ध हुन्छ / आमाको दुध नै ६ महिना सम्म शिशुको लागी पूर्ण आहार हो/ शिशु ६ महिना पुगेपछि मात्र थप खाने कुराहरु खुवाउनु पर्दछ /


  • हरेक सुत्केरी महिलाहरुले माथि उल्लेखित पोषणयुक्त खाने कुराहरु अनिवार्य रुपमा खानु पर्दछ / अन्य कुनै रोग भएमा र खाना बार्नु परेमा स्वास्थ्य  सल्लाह लिनु पर्दछ /

  • स्तनपान गराउदा आमाले खाएको आहार को अंश नै शिशुमा जाने भएकोले मोटाउने डरले खाना कम खाने, छाक छोड्ने गर्नु हुदैन/ साथै स्तनपान गराउदा २५०-३५० मि.ग्राम क्याल्सियम आमाको दुध बाट बच्चामा जाने भएकोले, र खानाबाट मात्र क्याल्सियम आपूर्ति नहुने भएकोले थप क्यल्सिम चक्की खानु पर्दछ / क्याल्सियमले दांत तथा हाड बलियो बनाउने, रगत जम्न मद्दत गर्ने, मांशपेशी खुम्चिन र तन्कन  सहयोग गर्ने र प्रतिरक्षा शक्ति मजबुत बनाउने गर्दछ /
  • प्रसबको  समयमा अत्यधिक रक्तश्राब भएको छ र शरीरमा हेमोग्लोबिनको मात्रा घटेको छ भने र खाएको खाना बाट मात्र आइरनको आपूर्ति हुन सकेन भने आइरन चक्की पनि अनिवार्य खानु पर्दछ/ आइरन चक्कीले दिसा कालो बनाउछ, र कहिले काही वाकवाक तथा बान्ता हुने पनि हुन्छ यस्तो अवस्थामा कागती सेवन गर्नु राम्रो हुन्छ/

  • अपरेशन गरि सुत्केरी भएका महिलाहरुले दोश्रो / तेस्रो दिनबाट सबै थोक खान मिल्छ/ आलु तथा कालो दालले घाउ पाक्ने भन्ने कुरा सहि होइन/ आलुमा शरिरलाई आवश्यक पर्ने क्याल्सियम, आइरन, भिटामिन सी र फस्फोरस पाइन्छ साथै बोक्रा सँग खाएमा यसले कब्जियत पनि हुन दिदैन/ त्यस्तैकालो दाल पनि दालकै अंश पर्ने भएकोले यसमा प्रोटिन पाइन्छ /  तेलमा धेरै तारेको र मरमसलायुक्त खानेकुरा कम खानु नै बुद्धिमानी हुन्छ /पोषणयुक्त खानाको सेवनले घाउ छिटो निको हुन मद्दत गर्दछ साथै संक्रमण हुन पनि दिदैन/


  • कब्जियत सुत्केरी महिलामा देखिने एउटा ठुलो समस्या बन्दै आएको छ यसको रोकथामका लागि रेशादार खानेकुरा, फलफुल  र प्रशस्त मात्रामा पानी पिउनुको साथै शारीरिक ब्यायाम पनि गर्नु पर्दछ/ सुत्केरी अवस्थामा ज्वानोको झोल सेवन गर्ने हाम्रो परम्परा सराहनीय छ/

  • शिशु बिरामी भएको खण्डमा आमाले खाने कुरा बार्नु हुदैन त्यसो गर्दा शिशुलाई अत्यावश्यक पोषक तत्वको कमी हुन जान्छ /सुत्केरी अवस्थामा समयमा नुहाउने, हात तथा खुट्टाको नङ काट्ने, दात माझ्ने, कपाल कोर्ने  र यौनअंग  सफा गर्ने गर्नु पर्दछ र भित्रि कपडाहरु पनि समय समयमा परिवर्तन गर्नु पर्दछ/ दांत तथा मुख सरसफाईमा ध्यान नदिदा श्वास गनाउने र शारीरिक सरसफाइको कमीले गर्दा अस्वस्थ हुन गई खानामा रुची कम हुन जान्छ, परिणामस्वरूप अन्य रोगको  पनि संक्रमण हुन पुग्दछ / 

धन्यवाद 


1 comment:

  1. tips को लागि heera जि लाई धन्य्बाद

    ReplyDelete