Monday, February 2, 2015

14. मेरो उदेश्य नर्सलाई ठुलो देखाउनु होइन तर सानो र अर्थहीन छैनन भन्ने बुझाउनु हो/ तपाईको उपचारमा डाक्टरको भूमिका मात्र छ भन्ने नठान्नुहोस, अस्पतालमा त हरेक कर्मचारी जस्तो हेल्पर, हेल्थ एड, भान्सा, ल्याब, प्रशासन र तपाई स्वयंको भूमिका उत्तिकै हुन्छ / By Mrs. Heera KC Parajuli, BN Nurse

नर्सिङको आवश्यकता किन ?: तपाईको प्रश्नमा मेरो जवाफ /

“नर्सको काम नै के हुन्छ र !,  डाक्टरले लेखेको औषधी दिने न हो’’ आधुनिक पहिरनमा सु-सज्जित भद्र अधबैसे एक बिरामीका आफन्तले दिएको जवाफले मेरो मनमा अनेकन सवालहरु उठायो/ प्रति उत्तरमा उहाँलाई प्रष्ट पारौ कि भन्ने पनि सोचे तर त्यति खेर नै  उचित नहोला भनेर चुप नै रहें / यो मैले प्रत्यक्ष भोगेको घटना हो / केहि विरामी, बिरामीकुरुवा र केही स्वास्थकर्मीहरुबाट समेत प्राय नर्सलाई हेर्ने दृष्टिकोण यस्तै नै हुन्छ/ उहाँहरुको सोचाईमा नर्सको काम भनेको अस्पतालमा आएका बिरामीलाई बेडमा राख्ने र डाक्टरको पुर्जा अनुसारको औषधि दिने मात्र हुन्छ /  

आफूलाई हेर्ने डाक्टरको नाम पुरै याद गर्ने, उहाँको उपस्थितिलाई बडो शानका साथ तारिफ गर्दै नमस्कार गर्ने बिरामी र कुरुवाहरु हामीले गनिनसक्नु भेट्छौ तर नर्सको नाम तथा काम याद गर्ने बिरामी भेट्यौ भने त्यो ठुलो अहोभाग्य हुनेछ/ तर सानो भन्दा सानो गल्ती होस् वा मिसकम्युनिकेसन नै किन नहोस, त्यस बेलामा नर्सलाई याद गर्ने र गालि-गलौज गर्ने बिरामी तथा कुरुवाहरु हामीले धेरै भेट्ने गरेका छौ र त्यसबेला सुन्छौ पनि, नर्सको लापरवाहीले मेरो बिरामीको यो अवस्था भयो आदि/ एउटा वास्तविक घटना यहाँ उदृत गर्दा एक जना बिरामी महिलालाई सलाइनवाट औषधी दिदा उहाँको हात दुखेछ अनि हेर्दा सुन्निएको पनि रहेछ, बिरामी कुरुवाले अघि औषधी दिने नर्स खोइ ? भनेर सोध्नु भयो, मैले किन भनेर सोधपुछ गर्दै गर्दा, उहाँले मेरो बिरामीलाई अघि औषधी दिदा झन्डै मारेछ भन्नुभयो/ मानौ कि उहाँलाई केहि दुख्यो होला जुन औषधि दिदा हुने नै गर्छ, दुखेको अवस्थामा बिरामीले मार्यो भन्नु स्वाभाविक पनि होला तर कुरुवाले आएर सोध्दा त्यही कुरालाई राम्रै तरिकाले भन्दा पनि त हुन्थ्यो / यो एउटा घटना मात्र हो / यी र यस्ता घटना धेरै नै घट्ने गर्दछन् /

नर्सलाई डाक्टरको सहयोगी मात्र ठान्ने र नर्सको भूमिका नै के छ? र भनि प्रश्न चिन्ह खडा गर्न बिरामी, बिरामी कुरुवाहरु मात्र होइन अस्पताल प्रशासन पनि पछी पर्दैन / कतिपय बुझ्रुक व्यक्तिहरुले त बुझेर पनि दबाउन खोज्नु हुन्छ भने नबुझ्ने र नथाहपाउनेको लागि नर्सिङको महत्व के नै थाहा होला र ? त्यसैले यस लेखवाट म यस वारेमा प्रस्ट्याउन चाहन्छु/

नर्स को हुन् र के के काम गर्छन भनेर बुझ्नको लागी सम्झनुहोस त तपाईको अस्पताल भर्नाको दिन; तपाईलाई वार्डमा ल्याउने बित्तिकै तपाईको बस्ने बेड देखाउने, वार्डको बारेमा जानकारी दिने (ट्वाइलेट, बाथरूम, स्टोर रूम देखाउने) र तपाईलाई सजिलो सँग बसाए पछी तपाईको हालखबर बुझ्ने, नाडीको गति, श्वासको गति, शरीरको तापक्रम तथा ब्लड प्रेसर नाप्ने र त्यसमा केहि परिवर्तन आए नआएको रिपोर्ट गर्ने, त्यसको बारेमा जानकारी दिदै सान्त्वना दिने पहिलो व्यक्ति नर्स हुन् / साथै डाक्टरहरुले पनि नर्सले गरेको रिपोटिंङ्कै  आधारमा विश्वास गरेर तपाईको उपचार प्रकिया अघि बढाउछन् /  

हो मान्छु, नर्सहरुले डाक्टरले लेखेको औषधी दिने काम गर्छन/ नर्सहरु डाक्टर भन्दा भिन्न तरिकाको तालिम प्राप्त गर्छन तर दक्ष हुन्छन / नर्सहरुले पनि तपाईलाई लागेको रोगको बारेमा पढेका हुन्छन, तपाईको शारीरिक संरचना र तपाईलाई दिने औषधिको बारे पनि जानेका हुन्छन / त्यही अनुसार कुन औषधी खाना अघि ? कुन खाना पछि ? कति मात्रामा? कुन बिहान ? कुन बेलुकी ? साथै औषधिको असर र फाइदा वारेमा जानेका हुन्छन् र त्यसबारे तपाईलाई जानकारी पनि गराइरहेका हुन्छन / डाक्टरहरुले धेरै बिरामी हेर्नुपर्ने हुदाँ वार्डमा बस्ने फुर्सद नहुन पनि सक्दछ तर सोच्नुहोस, अनि मुल्यांकन पनि गर्नुहोस त, वार्डमा पनि त धेरै बिरामी हुन्छन तर सिमित नर्स हुदाँ पनि तपाईको नाम, तपाईको अवस्था कस्तो छ भन्ने बारेमा सबै जानकारी लिएकै हुन्छन / यो त एउटा कामको पाटो मात्र भयो, अर्को कुराको  जानकारी गराऊ - सम्पूर्ण वार्ड नर्सको जिम्मेवारीमा हुन्छ, यो यत्तिकै गरेको कामको बाडफाड होइन सिप, पढाई र दक्षताको आधारमा छुट्टिएको ब्यवस्थित कार्य विभाजन हो/ अस्पताल भर्नाको क्रममा तपाईको बिरामीलाई अचानक केहि भयो, जस्तो कि श्वास फेर्न गाह्रो भयो, ज्वरो आयो, अचानक बेहोस भयो - त्यस समयमा सबैभन्दा पहिला आएर जाँच गर्ने, तपाईलाई केहि हुन्न नआत्तिनुहोस भनेर सान्त्वना दिने, मनोबल बढाउने, तपाईको समस्या, गुनासो आदि सुन्ने व्यक्ति नर्स हुन् / कसैको समस्या बुझ्नु, सुन्नु, त्यसलाई मनन् गर्नु र सहानुभूति प्रकट गर्नु यो पनि एउटा आत्मीय उपचार पद्दति हो/ तपाई यसलाई महसुस गर्नुहुन्छ तर औषधी मान्नुहुदैन अनि प्रश्न गर्नु हुन्छ - नर्सको काम के नै छ र? तपाईले बारम्बार दोहोर्याई-तेहर्याई सोध्ने प्रश्नको जवाफ दिई तपाईलाई सन्तुष्ट पार्ने व्यक्ति नर्स हुन्/ तपाईले खाना खानु भयो/भएन, राम्रो सँग सुत्नु भयो/भएन, दिसा-पिसाव नियमित भयो/भएन, हात मुख, दाँत सफा गर्नु भयो/भएन, नुहाउनु भयो/भएन, अथवा आफ्नो व्यक्तिगत काम गर्न सक्षम हुनुहुन्छ वा हुनुहुदैन ? यी सबै कुराको जानकारी लिने, त्यही अनुरुप तपाईलाई शिक्षा दिने, प्रोत्साहन गर्ने सबै काम नर्सका नै हुन् /

याद गर्नुहोस;  यदि तपाईले रगत, दिसा-पिसाव आदिको रिपोर्ट लिएर आउनु हुन्छ भने  त्यसको बारेमा जानकारी दिने पहिला व्यक्ति नर्स नै हुन् /  यो त रिपोर्ट लिए पछिको कुरा भयो तर परिक्षण भएको छ / छैन; त्यसको वारेमा सोध-खोज गरि समयमा परिक्षण गर्न पठाउने र रिपोर्ट ढिलो हुदाँ उपचारमा पर्ने नकारात्मक परिणामको जानकारी दिने प्रमुख व्यक्तिहरु नर्स नै हुन् /

तपाईलाई यो पनि जानकारी गराऊ कि यदि औषधिले मात्र रोग निको हुने भए नर्सिङको खाँचो नै पर्दैन थियो होला साथै तपाईलाई अस्पतालमा पनि भर्ना गर्नुपर्दैन थियो होला, किनभने औषधी तपाई स्वयं पनि खान - खुवाउन सक्नुहुन्छ / बेला बेलामा मिठो बोलेनन्, नर्सहरु झर्किए, झगडा गरे, मेरो हेरचाह गरेनन् भनेर तपाईहरु गुनासो गर्नुहुन्छ किनकि तपाईहरु नर्सको माया र स्नेह चाहनुहुन्छ, आफ्नो कुरा सुनिदियोस भन्ने चाहनुहुन्छ/ यहिबाट थाह हुन्छ कि तपाईलाई औषधी दिने डाक्टरको मात्र होइन राम्रो हेरचाह गर्ने, स्नेह दिने एक असल र दक्ष नर्सको पनि खाँचो छ/
     
          हो ! डाक्टरको स्थान नर्सले लिन सक्दैनन् तर नर्सको स्थान पनि त डाक्टरले लिन सक्दैनन् किनकि उनीहरु त्यसरी नै प्रशिक्षित हुन्छन / नर्सको भूमिका अस्पतालमा सबैतिर हुन्छ जस्तो कि ओ.पी.डी., इमर्जेन्सी, शल्यक्रिया कक्ष, आइ.सी.यु, प्रसूती लगायतका विभिन्न वार्डहरु,  प्रशासनिक काममा अनि आफ्नै व्यवसायिक संगठनमा र यी विभिन्न स्थानमा काम गर्न नर्सहरुले पनि केहि बर्षको अध्ययन पुरा गरेर, अनुभव बटुलेर र लाइसेन्स पास गरेर आएका हुन्छन न कि कसैको सिफारिस वा हचुवाको भरमा/ व्यवसायिक र नीति नियमको कमजोरीको कारण नर्सिङ पेशालाई धेरै पैसा कमाउने भाडोको रुपमा लिंदा गुणस्तरमा नै प्रश्न चिन्ह लाग्ने गरेका छन /

         नर्सले बिरामी मात्र नहेरी वार्डको प्रशासनिक ब्यबस्थापन, फोहोर ब्यबस्थापन, स्टोरको सामान ब्यवस्थापन आदि कामहरु पनि गरि राखेका हुन्छन / एक नर्सले १० देखि १५ बिरामीको हेर-विचार गर्नु पर्छ जवकी स्ट्याण्डर्ड प्रोटोकल अनुसार जनरल वार्डमा एक नर्सले ५ देखि ६ जना बिरामी, आइ.सी.यू./इमर्जेन्सीमा एक नर्सले १-२ बिरामी हेर्नु पर्दछ/ मलाई दुख: छ - बिरामी र बिरामी कुरुवाहरुले जुन आशा र भरोसा लिएर आउनु हुन्छ त्यो अनुरुप हामीले काम गर्न सकेका हुदैनौ तर हाम्रो कोसिस जहिले पनि रही रहन्छ/

          विभिन्न अनुसन्धानहरुले के पनि भनेका छन् भने जुन अस्पतालमा नर्स र बिरामीको अनुपात ठिक्क हुन्छ त्यहाँ बिरामीमा देखिने समस्याहरु धेरै कम हुन्छन्, उपचारमा सहजता आउछ, बिरामीले पूर्ण उपचार पाउछन साथै नर्स र बिरामीमा झगडा-असन्तुष्टि कम हुन्छ भने काम गर्ने वातावरण पनि राम्रो हुन्छ र विरामीले चाडो घर जान पाउदछन् /
     
          अब डिस्चार्जको कुरा गरौ, डाक्टरहरुले तपाईको डिस्चार्ज फाइल त तयार गर्छन तर त्यसपछि तपाईलाई घर गएर के के कुरामा ध्यान दिने, औषधि कुन समयमा कसरी खाने, कुन अवस्थामा अस्पताल फेरी आउने सबै जानकारी दिएर तपाईलाई घर पठाउने गर्दछन् नर्सले / त्यसैले एक वरिष्ठ डाक्टरले स्वयं भनेका छन् – अस्पतालमा बिरामी निको पार्नका लागि महत्वपुर्ण भूमिका खेल्ने नर्सहरु अस्पतालका मेरुदण्ड नै हुन् / (एक छिन कल्पना गर्नुहोस त मेरुदण्ड बिना को मानव शरीर कस्तो हुन्छ?) 
      
       मेरो उदेश्य नर्सलाई ठुलो देखाउनु होइन तर सानो र अर्थहीन छैनन भन्ने बुझाउनु हो/ तपाईको उपचारमा डाक्टरको भूमिका मात्र छ भन्ने नठान्नुहोस, अस्पतालमा त हरेक कर्मचारी जस्तो हेल्पर, हेल्थ एड, भान्सा, ल्याब, प्रशासन र तपाई स्वयंको भूमिका उत्तिकै हुन्छ / अन्त्यमा यो लेख पढ्नु भएपछि - तपाईको नर्सप्रतिको दृष्टिकोणमा परिवर्तन आउनेछ र नर्सको कामलाई अवश्य पनि सम्मान र प्रोत्साहन दिनु हुनेछ भन्ने आशा राख्दछु /
    
           धन्यबाद

No comments:

Post a Comment